काठमाडौं । दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री प्रकरणमा संसदको शिक्षा समितिले पनि छलफल गर्ने भएको छ ।
एनसेलको शेयर खरिद-बिक्रीलाईं लिएर यसअघि संसदकै सार्वजनिक लेखा, अर्थ र राज्य व्यवस्था तथा सुशासन समितिले पनि छलफल चलाएका थिए । राज्य व्यवस्थाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्दा लेखा र अर्थ समितिले यथार्थ विवरण १५ दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएका थिए ।
संसदको लेखा समितिले गरिरहेको काममा अनावश्यक हस्तक्षेप गरेको भन्दै राज्य व्यवस्था समितिविरुद्ध लेखा समिति प्रतिकारमा उत्रिएको थियो । अब चौथो समितिको रुपमा शिक्षा समितिले पनि छलफल गर्ने भएको हो । शिक्षा समितिमा सभापति एकीकृत समाजवादीका सांसद भानुभक्त जोशी रहेका छन् ।
छलफलको मिति अर्को बैठकमा तोकिने छ । यसअघि संसदको लेखा समिति र राज्य व्यवस्था तथा सुशासन समिति पनि एनसेलबारे छलफल गरेको थियो । यसमा समितिको क्षेत्राधिकारको विषयमा लेखा र राज्य व्यवस्था समितिबीच विवादसमेत भएको थियो । दुई समितिले छलफल गरेपछि सम्बन्धित शिक्षा समितिले भने बल्ल चासो देखाएको छ ।