काठमाडौं । चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ । २ सय २० भन्दा बढी घाइते भएका छन् ।
गान्सु प्रान्तमा एक सय र छिमेकी जिङगाइमा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दुबै प्रान्तमा ठूलो मात्रामा भौतिक क्षति समेत भएको समाचार छ ।
करिव १० किलोमिटर गहिराइ भएर ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे युएसजीएसले जनाएको छ । प्रभावित क्षेत्रहरुमा उद्धारका कामहरु भैरहेको चीनिया सञ्चारमाध्यमले जनाएका छन् ।
उद्धार र राहतका लागि केन्द्रीय टोलीहरु समेत परिचालन गरिएको छ । भूकम्प प्रभावितहरुको उद्धार राहत र क्षति कम गर्न सबै संयन्त्र परिचालन गर्न राष्ट्रपति सी चिनफिङले निर्देशन दिएका छन् । भूकम्पको क्षतिको आधिकारिक र पूर्ण विवरण आइसकेको छैन ।
गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६।६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो ।