काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरुलाई फर्काउने पहल भइरहेको बताएका छन् । आज (बुधबार) काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न बाध्यताले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरुलाई सकुशल नेपाल फर्काउनले हरसम्भव प्रयास भइरहेको बताएका हुन् ।
‘अहिले विभिन्न बाध्यताका कारण दुई सयभन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ । त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ,’– उनले भने ।
नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणबाट नेपाली युवाले विदेशमा अनेक हन्डर खाइरहेका उनको भनाई छ । उनले अहिले नेपालमा पनि प्रशस्त शिक्षा र रोजगारीको अवसरहरु रहेको बताए । नेपालमा भएका स्रोत र साधनको प्रयोग गरेर ब्यक्तिगत जीवनलाई मात्रै नभएर देशको हितमा पनि काम गर्न सकिने उनले बताए ।
‘म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ,’– उनले भने ।