चिसोका कारण कर्णालीका आठ प्रहरी चौकी सदरमुकाम सारिए

काठमाडौं । चिसो बढेसँगै कर्णालीका तीन जिल्लाका उत्तरी भेगमा रहेका आठ प्रहरी चौकीलाई सदरमुकाम सारिएको छ। डोल्पाका ६ र हुम्ला तथा मुगुका एकएक प्रहरी चौकीलाई सदरमुकाम सारिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सारिएका सबै चौकी उत्तरको छिमेकी चीनको सीमा नजिकका हुन्। चिसोका कारण प्रहरीलाई सदरमुकाम सारिएसँगै ६ महिनाका लागि ती चौकी खाली हुनेछन्।

जिल्ला सुरक्षा समितिको १५ गतेको बैठकले तिब्बतको सीमा नजिक रहेका इलाका प्रहरी कार्यालय चिसो अवधिसम्मका लागि सदरमुकाम सार्ने निर्णय गरेको थियो। त्यहाँ असईसहित नौ जना प्रहरी कार्यरत थिए।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर वलीका अनुसार केही दिनअघिको हिमपात र वर्षाका कारण अत्यधिक जाडो बढेपछि तिब्बत नजिकै रहेको प्रहरी चौकीमा कार्यरत असईसहित सबै प्रहरीलाई सदरमुकाम झिकाइएको बताए। उनीहरू अब चैततिर सीमा चौकीमा खटिनेछन्।

यस्तै डोल्पाका ६ प्रहरी चौकी पनि खाली भएका छन्। उत्तरी डोल्पामा रहेका प्रहरी चौकीमा कार्यरत प्रहरीलाई सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वलीका अनुसार इलाका प्रहरी कार्यालय धो, अस्थायी प्रहरी चौकी तास्की, इलाका प्रहरी कार्यालय तिन्जे, इलाका प्रहरी कार्यालय राप, इलाका प्रहरी कार्यालय नाम्दो र प्रहरी चौकी भिजेरमा कार्यरत प्रहरीलाई सदरमुकाम दुनै ल्याइएको छ। केही प्रहरी कर्मचारी सदरमुकाम पुगिसकेका छन् भने केही बाटोमै आउने क्रममा रहेका छन्।

यस्तै हुम्ला र चीनको सीमा हिल्सामा रहेको प्रहरी चौकी र लिमीको इलाका प्रहरी कार्यालयका प्रहरी पनि सदरमुकाम सिमकोट आइपुगेका छन्। सदरमुकाम सारिएका इलाका प्रहरी कार्यालयहरू सईको कमान्डमा थिए। प्रवक्ता वलीले चिसो कम भएपछि मात्रै ती प्रहरी चौकीमा प्रहरी खटाइनेछ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार