नेपालमा सुन तस्करी पुनः मौलायो

काठमाडौं । नेपाललाई ट्रान्जिट बनाई सुन तस्करी गर्ने क्रम झन् बढेको छ । पछिल्ला दुई दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० किलोभन्दा बढी सुन बरामद हुन र फरक फरक व्यक्तिहरु पक्राउ पर्नुले नेपाल अन्तर्राष्ट्रिय सुन तस्करहरुको मूख्य नाका हुन थालेको त होइन भन्ने प्रश्न उठेको छ । यसैले भन्सार कार्यालय र प्रहरीले सुन तस्करी नियन्त्रणका लागि थप योजना अघि सारेका छन् ।


पछिल्लो समय नेपाल सुन तस्करी गर्ने मुख्य ट्रान्जिट बन्दै गएको छ । गत बिहीबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएकै दिन नागढुंगाबाट २ किलो सुन बरामद भयो । त्यसको एकदिन पछि अर्थात आइतबार पुनः साढे ६ किलो तरल सुन विमानस्थल भन्सार पार भइसकेको अवस्थामा बरामद भयो ।

१४ किलो र साढे ६ किलो सुन प्mलाइ दुबइको उडानबाट आएका यात्रुबाट बरामद गरियो भने नागढुंगाबाट बरामद भएको सुन चीनबाट नेपाल भित्र्याइएको थियो । यस्तै यी तीन वटै तस्करी फरक फरक समूहले गरेको देखिएको छ । यद्यपी सुन ल्याउने मूख्य लगानीकर्ता को हो भन्ने चाहीँ खुलेको छैन ।

नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७०÷७१ देखि चालु आर्थिक वर्ष ०८०÷८१ सम्मको १० वर्षको अवधिमा करिब ७ सय किलो सुन बरामद भइसकेको छ जुन हवाइ र सडक नाकाबाट भित्रिएको हो । जसमा चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा मात्रै ९३ किलो सुन नियन्त्रणमा लिइएको छ । उक्त परिमाण बराबरको ओसारपसारमा संलग्न ५ सय ९९ जना पक्राउ परिसकेका छन् ।

गत श्रावण ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच गराएर बाहिरिएको ६१ किलो सुन प्रकरणको घटनाको बिषयमा गठन गरिएको छुट्टाछुट्टै समितिले प्रतिवेदन तयार पार्दा पार्दै १४ किलो सुनको छानबिनका लागि पनि अर्को समिति बनाइएको छ । यी समितिले छानबिन गर्दागर्दै नेपालमा कति परिमाणमा सुन भित्रिने हो निश्चित छैन । यद्दपी भन्सार कार्यालयले भने वषौंदेखिको सुन तस्करी रोक्नका लागि नयाँ योजना अघि सारेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बताउनु भयो ।


विगत दुई महिनामा बरामद भएको साढे २२ किलो सुन ल्याउने भरियाहरु मात्रै पक्राउ परेका छन् । १४ किलो सुन लिएर आएका चन्द्र घलेले पनि आफू भरिया मात्रै भएको दाबी गरेका छन् । दिनानु दिन ठुलो परिमाणमा सुन बरामद हुनुमा प्रहरी र भन्सार कार्यालय सचेत रहेकै कारण सम्भव भएको उपत्यका प्रहरी कार्यालयका प्रमुख दिपक थापाको भनाइ छ ।


विमानस्थल भन्सार र प्रहरीले आफूहरु सचेत भएकै कारण तस्करीको सुन बरामद हुने क्रम बढेको बताए पनि सेटिङ नमिल्दा यस्ता घटनाहरु सतहमा आउने गरेको हो भन्ने बुझ्न कठिन छैन । तर बरामद गरिएका सुनको आँकडाले सीमा नाघ्दा नियन्त्रणमा लिन नसकेको वा सेटिङमा पास हुने गरेको सुनको कुनै लेखाजोखा छैन । यसरी तस्करी भइ आउने सुन नेपालमा आन्तरिक खपत भन्दा पनि भारत पुग्ने गरेको छ । तर दिनहुँ जसो हुने तस्करीले देशको अन्तर्राष्ट्रिय साख ध्वस्त त बनाएको छ नै त्यसमाथि अर्थतन्त्रमा पनि गम्भीर चुनौती थप्ने पक्का छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार