काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुवोध’ ले अर्थतन्त्र सुधारका लागि सरकार र राष्ट्र बैंकका तालमेल नमिलेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारलाई राष्ट्र बैंकले असहयोग गरेको जस्तो देखिएको बताएका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ब्रिफिङका आधारमा देशको अर्थतन्त्र तत्काल दुर्घटनामा जाने स्थितिमा नरहेको बताए । उनले अर्थतन्त्रका बारेमा धेरै आतंकित नहुन पनि सबैलाई अपील गरे । तर, अर्थतन्त्र सोचअनुरुप भाइब्रेट हुन नसकेको उनको भनाई छ । बजेटमा भएको कमिकमजोरीका कारण र सरकार र राष्ट्र बैंकका बीच तालमेल नमिल्दा अर्थतन्त्र चलायमान हुन नसकेको उनले बताए ।
राष्ट्र बैंकले सरकारको निर्देशन विपरीत काम गर्दै गएको उनको आरोप छ । सरकारले अर्थतन्त्र चलायमान बनाउनका लागि शेयर बजार, ब्याजदर लगायतका विषयमा राष्ट्र बैंकलाई दिएको निर्देशन विपरीत काम भएको उनको दाबी छ । ‘राष्ट्र बैकलाई सरकारले क्याप नलगाउनुस् भन्यो । उसले क्याप लगाइदियो । ब्याज नबढाउनुस् भन्यो ब्याज बढाइदियो । सरकार एउटा भन्छ, राष्ट्र बैंक अर्को गर्छ । सरकार र राष्ट्र बैंकका बीचमा, अझ अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा तलमेल र एकरुपता हनुपर्ने हो त्यो भएको छैन,’– उनले भने ।
साथै, बजेटमा कमी कमजोरी भएका कारण पूर्वाधार क्षेत्रका ठेक्कापट्टाहरु सम्झौता हुन नसकेको उनको भनाई छ ।