रसियन सेनामा माओवादी पूर्वलडाकु पनि, रहरले गए कि बाध्यताले ?

काठमाडाैँ । रुसी सेनामा कार्यरत तीन नेपालीले ज्यान गुमाएका छन् । रुस–युक्रेन युद्धको क्रममा रुसी सेनाले नेपालीलाई पनि सेनामा भर्ति गर्ने क्रम बढेपछि सैनिक बनेकामध्ये तीनजनाले ज्यान गुमाएका छन् । माओवादी युद्धमा होमिएका पूर्वलडाकु समेत युद्धमा समावेश भएको तथ्य बाहिरिएको बेला रुसी सेनामा कसरी नेपालीहरु भर्ति भए र अवस्था यस्तो बन्न पुग्यो त ?


रुसको मस्कोस्थित नेपाली दूतावासका अनुसार रुस युक्रेन युद्धको क्रममा रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको पाइएको छ । गएको कार्तिक २९ गते अर्थात नोभेम्बर १५ मा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको औपचारिक जानकारी नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई दिएको छ ।


रुसी सेनाले आफ्नो सहयोगीको रुपमा उनीहरुलाई राखेको बताइएको छ । तीन जना नेपालीले रुसमा ज्यान गुमाएपछि यसबारे सोधिखोजी चलिरहेको छ । रुसी सेनामा कार्यरत केहि नेपाली अझैं सम्पर्कबिहीन बनेको बताइन्छ भने रुसी सेनामा २ सय बढी नेपाली कार्यरत रहेको अनुमान गरिदै आएको छ ।


नेपालस्थित रुसी दूतावास अघि केहिसमय पहिले युवाको लाम लाग्ने गरेको थियो । त्यसबेला रुसको मस्कोसम्म भिजिट भिसामा त्यहाँ पुग्ने र उतै रुसी सेनामा भर्ति हुनेक्रम चलेको अनुमान गरिएपनि त्यसको औपचारिक पुष्टी हुने आधार भने भेटिएको थिएन् । तर, रुसमा भिजिट भिसामा जानेहरुले आफै व्यक्तिगत रुपमा बन्दोबस्त गरेर सेनामा भर्ति भएको बताइन्छ ।


यता, नेपालीहरु अवैध रुपमा रुसी सेनामा भर्ति भएको विषय सार्वजनिक हुन थालेपछि परराष्ट्र मन्त्रालय र रुसको मस्कोस्थित दूतावासले सेनामा भर्ति नहुन अपिल नै गरेका थिए । नेपालले औपचारिक रुपमा रुसी सेनामा नेपालीलाई पठाउने व्यवस्था नभएको समेत जानकारी गराएको थियो । तर, पनि थुप्रै नेपालीहरु रोजगार बन्ने लालसमा सेनामा भर्ति हुन पुगेका देखिन्छन् ।


माओवादी पूर्वलडाकु पनि रुसी सेना


तत्कालीन माओवादीले थालेको १० वर्षे युद्धमा सहभागी भएका पूर्वलडाकुहरु पनि रुसी सेनामा सहभागी भएको विषय यसअघि नै सार्वजनिक भइसकेको छ । म्याग्दीका रमेश विक ’डायमण्ड’ रुसी सेनामा कार्यरत रहेको विषय आफैले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । उनी तत्कालीन माओवादीको युद्धमा जनमुक्ति सेनाको रुपमा कार्यरत रहेका थिए । उसोतः उनले लेनिनको देशबाट रातो सलाम भन्दै लामो सन्देश नै सार्वजनिक गरेका थिए ।
डायमन्ड उपनाम राखेका उनले पुटिनको सिपाहिको रुपमा आफू परिवार व्यवस्थापनका लागि रुस पुगेको उल्लेख गरेका थिए । नेपालमा १० वर्षे युद्धमा जनताको अवस्था परिवर्तन गर्न लडेको स्मरण गर्दै रुसमा पारिवारिक व्यवस्थापनमा जुटेको भावुक सन्देश सामाजिक सञ्जालमा लेखेका छन् ।


नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाको म्याग्दी जिल्ला सेक्रेटेरी समेत रहिसकेका उनी रुसी सेनामा कार्यरत रहेको विषय सार्वजनिक गरेसँगै अन्य माओवादीका पूर्वलडाकु समेत त्यसरी सेनामा भर्ति भएको दाबी गरिन्छ । उनीजस्तै अरु खुल्न नचाहेका कारण पनि तथ्य सार्वजनिक हुन सकेको छैन् ।
रसियन सेना रहर कि बाध्यता ?
रुसमा भाडाका सैनिकहरु छन् । रुसको राष्ट्रिय सेनालाई सहयोग गर्ने गरेका भाडाका सैनिकहरुले केहिसमय पहिले विद्रोह नै गर्ने स्थिति बनेको थियो । जसको नेतृत्व रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनका भान्से बनेर चिनिने वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिन रहस्यमयी हवाई दुर्घटनामा मारिएका छन् । यसरी भाडाका सैनिकको रुपमा धेरै नेपाली कार्यरत हुन पुगेको दाबी गरिन्छ ।


रसियन सेनामा नेपालीहरु आफै सहभागी हुन पुगेका छन् । नेपालमा बढ्दो बेरोजगारी र आर्थिक संकट टार्नकै लागि नेपालीहरु जोखिम मोलेर अवैध रुपमा रुसी सेनामा भर्ना हुने गरेको पाइन्छ । रुसले संयुक्त राष्ट्रसँंघदेखि विभिन्न शक्ति राष्ट्रको प्रतिबन्ध व्यहोरिरहेको छ भने नेपालले यस्तोमा आफ्ना नागरिकलाई सेनामा पठाउने विषय नै सहज छैन तर, नेपालीहरु बाध्यतामा परेरै सेनामा भर्ति हुने गरेको दाबी छ ।


युक्रेनी सेनाको बन्धक नेपाली


त्यस्तै बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई युक्रेनी सेनाको नियन्त्रणमा रहेको समाचार केही समयअघि बाहिरिएको थियो । खत्री युक्रेनी सेनाको नियन्त्रणमा रहेको युक्रेनका पूर्वआन्तरिक मामिला उपमन्त्री एन्टोन गेरान्चेन्कोले युक्रेनले पुष्टि गरेका थिए । विवेकले एयरबोर्न फोर्सका लागि काम गरेको गेरान्चेन्कोले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार