एआईजी ज्ञवालीको नक्कली जन्ममितिको उजुरी एक्सनमा उत्रिए सभापति खतिवडा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले नक्कली जन्ममिति पेश गरेर जागीर खाएको भन्दै उजुरी परेपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा एक्सनमा उत्रिएका छन्।

नक्कली जन्ममितिको उजुरी परेपछि खतिवडाले  गृह मन्त्रालयसँग ज्ञवालीले पेश गरेको जन्म मिति सम्बन्धी कागजात मागेको छन ।  ज्ञवालीको जन्ममितिका सम्बन्धमा केही उजुरी परेपछि  ‘वास्तविकता के हो सत्य तथ्य बुझ्न त्यससम्बन्धी कागजात गृह मन्त्रालयसंग मागेको समिति सभापति खतिवडाले बताए।  ‘उजुरी आएपछि सत्यतथ्य  बुझ्ने काम हाम्रो क्षेत्राधिकार भित्र पर्छ अरुपनि केही उजुरी आएका छन् तिनको पनि छानविन गर्छौ” उनले भने।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निजामती कर्मचारीमा बेलाबेला उमेरका विवाद आउने गरेको भन्दै उनले उपसमिति नै बनाएर बिबादित जन्ममिति देखिएका सबैको छानविन गर्ने समेत बताए।

प्रहरीमा उमेर बिबाद कै कारण धेरैको फुली खोसिएको छ।  केही समय अगाडी मात्र प्रहरीको भावी महानिरीक्षक बन्ने दौडमा रहेका  प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि  राजीनामा दिएर हिडेका थिए ।  ज्ञवालीले  पनि त्यस्तै उमेर झुक्याएर सेवा गरेको भएको फुली खोसिन सक्ने चर्चा अहिले प्रहरी वृतमा चल्न थालेको छ।

ज्ञवालीले  नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति फरक पारेर प्रहरी सेवामा प्रवेश गरेको आरोपसहित उजुरी परेको थियो। ज्ञवालीको जन्ममिति विवादबारे सर्वोच्च अदालतमा पनि रिट परेको थियो। उक्त रिट सर्वोच्चले दरपीठ गरिदिएको थियो।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार