काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।
मन्त्रिपरिषद्ले सरकारी लिखतहरूमा नेपाल सम्बतसमेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्री प्रचण्डले हजारौं जनताको बलिदानीबाट आएको व्यवस्था उल्टिन्छ भन्नु सपनामात्रै भएको बताएका हुन् ।
‘‘आजको परिवर्तन साना दुखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन,’’– प्रधानमन्त्री प्रचण्डले भने ।
उनले पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोजेको बताए । यो संसारकै नियम भएको उनको भनाई छ । व्यवस्था उल्ट्याउने सपना कसैले नदेख्न पनि उनले चेतावनी दिए । व्यवस्था उल्ट्याउन खोज्नेले फेरी अर्को मूल्य चुकाउन पर्ने उनको भनाई छ ।
‘पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोज्छन्। अहिले पनि त्यही कोसिस हुँदैछ । ‘‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ। यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ,’’– प्रधानमन्त्री प्रचण्डले भने ।