जाजरकोटमा प्रदीप पौडेल नेतृत्वको टोलीले थाल्यो अस्थायी आवास निर्माणको काम


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य थालनी गरेको छ । पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको एक टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए ।

उनका अनुसार टोलीले करिब १०० स्थानीयको अस्थायी आवास निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ । १५० जनाको टोलीले क्षतिग्रस्त भएका घरहरुको भग्नावशेष पन्छाउन पनि सहयोग गर्नेछ ।टोलीमा नेता पौडेलसहित दिल्लीराम सुवेदी, दीपकबाबु कडेल, भागवत् रेग्मी, सुशील भट्टलगायतका नेता कार्यकर्ता रहेका छन् ।

सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेको थियो। जसअनुसार कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयलगत्तै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको हो । पौडेल नेतृत्वको टोली नलगाड नरगपालिका ४ र ५ नम्बर वडामा खटिनेछ । टोलीमा नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर समेत लगिएको पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार