मंसिर ७ को कार्यक्रम व्यवस्थापनमा दुर्गा प्रसाईंका ८६ जना संयोजक


काठमाडौँ । मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघले एकै दिन प्रदर्शनको कार्यक्रम गर्दै छन् । जिल्ला प्रशासन कार्यालयले माइतीघरमा निषेधाज्ञा जारी गरेर दुई समूहलाई फरक–फरक ठाउँमा प्रदर्शन गर्न ठाउँ तोकेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँगको समन्वयमा दुर्गा प्रसाईं बल्खुमा कार्यक्रम गर्न सहमत भएका छन् ।युवा संघ तीनकुनेमा कार्यक्रम गर्न राजी भएसँगै सम्भावित ‘मुठभेट’ टरेको सुरक्षा अधिकारीहरू बताउँछन् । प्रसाईंले लघुवित्त र सहकारी पीडितहरूको साथ लिएर प्रदर्शन गर्दै छन् ।

पूर्व राजा र अन्य अदृश्य शक्तिकेन्द्रले पनि प्रसाईंलाई साथ दिएको एक जना उच्च सुरक्षा अधिकारीले रातोपाटीलाई बताए । विभिन्न २८ वटा समूह र संस्थाहरूले दुर्गा प्रसाईंको कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।

प्रसाईंले कार्यक्रम व्यवस्थापन गर्न ८६ जना संयोजक तोकेका छन् । यातायात व्यवस्थापन र सर्वसाधारणलाई काठमाडौँमा उतार्ने गरी फरक जिम्मेवारी सहितका संयोजक तोकिएका हुन् ।गृह प्रशासनले प्रसाईंले गर्न लागेको प्रदर्शनलाई सूक्ष्म ढंगले निगरानी गरिरहेको छ ।

उपत्यका बाहिरबाट प्रसाईंले ५ हजार मानिस काठमाडौँमा ल्याउने गृह प्रशासनको आकलन छ । तर, दुर्गा प्रसाईंले विदेशमा रहेका नेपालीहरू मध्येबाट मात्रै करिब २७ हजारले आफ्नो प्रदर्शनमा सहभागी जनाउन लागेको दाबी गरे । रातोपाटीसँग कुरा गर्दै प्र्रसाईंले भने–‘विदेशबाट मात्रै २७ हजार आउँदै छन्, बल्खुमा उद्घाटन गरेर देशभर आन्दोलन चर्काउँछौँ ।’युवा संघले तीनकुनेमा गर्ने प्रदर्शनमा करिब २० हजार मानिस भेला हुने सुरक्षा निकायको आकलन छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार