काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीको मनोबल बढाउनेभन्दा पनि गिराउने कार्यहरू गरिरहेका छन् ।गृहमन्त्रीले प्रहरीको संरक्षण गरेर जनताको सेवा गर्नुपर्ने प्रमुख दायित्व रहेको हुन्छ ।
तर, गृहमन्त्रीले घटनाको गहिराइमा नपुगेर हावाका भरमा प्रहरीहरूलाई कारबाही गर्ने, धम्काउने, थर्काकाउने लगायतका हर्कत गरेर हैरान बनाएका छन् ।नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले प्रहरीलाई सहि बाटोमा ल्याउन र विधिअनुसार चलाउन सरुवा, बढुवा लगायतका अवसरमा नियम बनाएका छन् ।
धेरै बोल्न नरुचाउने आईजीपी कुँवरले राजनीतिक हस्तक्षेपमा रहेको प्रहरीभित्र सुधारका राम्रा संकेतहरू गरिरहेका बेला गृहमन्त्री श्रेष्ठले मनपरी हर्कत गर्न थालेपछि हेडक्वाटर असन्तुष्ट बनेको छ ।
आरती साह प्रकरणमा गृहमन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाउन दिएको निर्देशनप्रति आईजीपी कुँवर खुसी छैनन् । उच्च स्रोतका अनुसार शान्ति सुरक्षा बनाउन खटिएका प्रहरीलाई स–साना घटनामा कारबाही गर्ने, स्पष्टीकरण सोध्ने, हटाउने, मनोबल गिराउने जस्ता कार्य गर्दा प्रहरीको काम गर्ने मनोबल कमजोर हुने हेडक्वाटरको भनाइ छ ।
आरती साह प्रकरण भएका बेला एसपी खड्का विदामा थिए । विदामा रहेका बेला जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मेवारी डीएसपी देवप्रसाद गौतमले लिएका थिए । आरती साह प्रकरणका बेला भएको झडपमा प्रहरी कर्मचारीहरू पनि घाइते भएका छन् । घाइते भएका प्रहरीका बारेमा गृहमन्त्री श्रेष्ठले एकशब्द बोलेका छैनन् । प्रहरीको मानवअधिकारका विषयमा गृहमन्त्री श्रेष्ठ बोलेका छैनन् । उनलाई सेलिब्रेटी बन्नु परेको छ । गृहमन्त्रीको सचिवालय धनुषामा आफ्नो एसपीलाई पठाउन दौडधुपमा लागिसकेका छन् ।
माइतीघर मण्डलामा धर्नामा बसेको आधारमा प्रहरीको मनोबल गिराउने कार्य गरेर श्रेष्ठले आलोचना खेप्नु परेको छ ।एसपी खड्काले धनुषा जिल्लामा शान्ति सुरक्षा बनाउन राम्रो भूमिका निभएका छन् । धनुषामा शान्ति सुरक्षा बिग्रने कुनै पनि गतिविधि भएका छैनन् ।
मधेश प्रदेशका केही जिल्लाहरूमा धार्मिक दङ्गा भएका थिए । तर, धनुषामा धार्मिक दङ्गा हुन पाएन् । समयमा नियन्त्रण भए ।एसपी खड्काले जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्व ११ महिना सम्हालिसकेका छन् । एक महिनापछि उनको नियमित सरुवा हुन लागेको छ । तर, एसपी खड्कालाई शान्ति सुरक्षा राम्रो बनाएको भनेर धन्यावाद दिनुपर्ने बेला गृहमन्त्री श्रेष्ठले हेडक्वाटर तान्न दवाव दिएपछि माओवादीहरूको नियतमाथि प्रश्न उठेको छ ।
एसपी खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए ।सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो । संवादका लागि साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने शर्त राखेसँगै खड्कालाई हेडक्वाटर बोलाइएको छ ।
आरती साह धनुषामा मृत अवस्थामा भेटिएकी थिइन् । आरतीको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरिसकेको छ । अभियुक्तहरू थुनामा छन् ।