काठमाडौं । नेकपा (माओवादी केन्द्र) र सो पार्टीका नेताहरू सामाजिक सञ्जाल टिकटकबाट डराएका छन् ।
सरकारको नेतृत्व गरिरहेको माओवादीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने तयारी गरेको छ । उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल टिकटकलाई नियन्त्रण गर्न गृहकार्य थालेका छन् ।
गृहमन्त्री श्रेष्ठले टिकटकलाई नियन्त्रण गर्ने विषयमा सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकारी निकायका प्रतिनिधि र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच छलफल गराएका छन् ।
छलफलमा नेपाल प्रहरीको साइबर व्यूरो भोटाहिटी, सरकारी निकाय र टिकटकको कार्यालय सिंगापुरका प्रतिनिधिबीच परामर्श भएको गृह मन्त्रालयका प्रवक्ता तथा सह–सचिव नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समाजिक सञ्जाल टिकटक दुरुपयोग भएको माओवादी र गृहमन्त्री श्रेष्ठको निष्कर्ष छ । गृह मन्त्रालयले अबदेखि टिकटक र सामाजिक सञ्जालमा आउने गैरकानूनी सामग्रीलाई स्वत: हटाउने व्यवस्था मिलाएको र दोषीउपर कानून बमोजिम कारबाही गर्ने विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।
छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानूनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको गृह मन्त्रालयले जनाएको छ ।
‘जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगर्ने सामग्री मात्र प्रकाशन, प्रशारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेवापत हुने कानूनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ’, गृह मन्त्रालयका प्रवक्ता भट्टराईले चेतावनी दिएका छन् ।