लहान । ‘लागुऔषध कारोबार र कारोबारी विरुद्धको अभियान प्रहरीले पहिलो प्राथमिकतामा राखेको छ । लागुऔषधले धेरैको परिवार बिगारेको छ । धेरैको घरमा पीडा दिएको छ ।’ सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बूले rising madhesh सँग कुरा गर्दै भने, ‘सिराहा जिल्ला पनि लागुऔषधको कारोबार हुने जिल्ला मध्ये एक हो । यो बिरुद्ध प्रहरीले स्वीप अप्रेसन सञ्चालन गर्नेछ ।’
जिल्लाको कमाण्ड सम्हालेदेखि नै लागुऔषधको कारोबार र कारोबारी विरुद्ध कठोर रुपमा प्रस्तुत भएका एसपी लिम्बुको नेतृत्वले पछिल्लो समय आफ्नो अभियानमा उच्च सफलता मात्र हासिल गरेको छैन । त्यस्ता कारोबारीलाई कारागारको बाटो समेत देखाई दिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले सुरु गरेको लागुऔषध विरुद्धको स्वीप अप्रेसन सफल हुदै गएको प्रहरीको दावी छ ।
त्यसै क्रममा ; अवैध लागुऔषधसहति लहान नगरपालिका–२ का २० वर्षीय सदानन्द महतोलाई प्रहरीले पक्राउ गरेका छन् । प्रहरीले उनको साथबाट ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ ।
डाईजापाम– १५३ एम्पुल, ब्युप्रोनोरफिम– १५४ एम्पुल, फेनारगन –१९० एम्पुल गरी ४९७ एम्पुल लागुऔषध महतोको साथबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी रबिन्द्रराज पाण्डेले जानकारी दिए ।
गएराति लहान नगरपालिका–८ स्थित लोट्स बोर्डिङ्ग स्कुल नजिकै इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी सहायक हबल्दार देवकुमार यादवको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले महतोलाई शंका लाग्दा चेकजाँच गरेका थिए । चेकजाँचको क्रममा लागुऔषध फेला परेको हो ।
पैदल यात्री महतोले बोकेको कालो रङको झोला भित्र प्लाष्टिकको पोका बनाई लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेका छन् । लागुऔषधसहित महतोलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।