धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८०÷८१ का लागि २९ अर्व २६ करोड ५९ लाख ३२ हजारको वजेट सार्वजनिक छ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा आव २०८०÷८१ को लागि बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेशसभामा आव २०८०÷८१ का लागि बजेट प्रस्तुत गर्दै मन्त्री शाहीले चालुतर्फ ९ अर्व ५९ करोड ६० लाख २ हजार (३२ दशमलव ७९ प्रतिशत) र पूँजिगततर्फ १७ अर्व २ करोड २३ लाख ६० हजार (५८ दशमलव १६ प्रतिशत) रकम विनियोजन गरेको बताए ।
त्यस्तै सरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्व ३४ करोड ७५ लाख ७० हजार अर्थात ८ दशमलव ०२ प्रतिशत र वित्तीय व्यवस्थानतर्फ ३० करोड अर्थात १ दशमलव ०३ प्रतिशत बजेट विनियोजन गरिएको उनले बताए ।
प्रदेश सरकारले बजेटको स्रोत अन्तरगत आन्तरिक राजस्व बाँडफाँडबाट १ अर्व ५० करोड,नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ९ अर्व ४१ करोड १७ लाख,संघीय रोयल्टी बाँडफाँडबाट ६ करोड ५६ लाख,वित्तीय समानिकरण अनुदान ८ अर्व ५२ लाख प्राप्त हुने र चालु आवको बजेटबाट ३ अर्व ८६ करोड ६७ लाख बचत हुने अनुमान गरेको छ ।
त्यस्तै बजेटको स्रोतमा संघीय सरकारबाट सशर्त अनुदान ४ अर्व ५१ करोड १६ लाख र समपुरक अनुदानबाट ७७ करोड ६२ लाख रहने जनाइएको छ । प्रदेश सरकारले भौतिक पूर्वाधार,खानेपानी,कृषि,स्वास्थ्य,शिक्षा,पर्यटनलाई बजेटमा प्राथमिकतामा दिएको छ ।
सडक पूर्वाधारमा ५ अर्व ६८ करोड,खानेपानीतर्फ १ अर्व ७७ करोड,पर्यटन उद्योगमा १ अर्व ८१ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै स्वास्थ्य सेवा विकास र विस्तारमा ३ अर्व १४ करोड ७२ लाख बजेट विनियोजन गरेको छ ।